रामचन्द्र बचाउ अभियानको जगेडा रकम ब्यवस्थापनमा ल्याइने

काठमाडौ ।वैदेशिक रोजगारीको क्रममा साउदी अरवमा सडक दुर्घटनामा परेका रामचन्द्र तिमिल्सिनाको लागि ब्लड मनीवापत संकलीत रकम मध्ये पनौती नगरपालिकाको जिम्मामा रहेको रकम वैदेशिक रोजगारीको क्रममा विपत्तमा परेकाको नाममा खर्च गरिने भएको छ ।

वैदेशिक रोजगारीको क्रममा विदेशमा गई आपत्तमा परेकाको लागि रामचन्द्र बचाउँ अभियानको क्रममा संकलीत जगेडा रकम खर्चीने भएको हो ।

एनआरएनको वैदेशिक रोजगार कल्याणकारी कोषको उपसमिति र पनौती नगरपालिकाबीच वैदेशिक रोजगारीको सिलसिलामा विपत्तमा परेकालाई सो रकम खर्चिने बारे एनआरएनए सहकोषाध्यक्ष एवं उपसमिति संयोजक सोम सापकोटा र पनौती नगरपालिका प्रमुख भीम न्यौपानेबीच सो सहमती भएको हो ।

तत्कालीन समयमा रामचन्द्को जीवन रक्षाका लागि प्रवासबाट संकलीत रकममध्ये ३७ लाख १८ हजार पनौती नगरपालिका अन्र्तगत जगेडा कोषमा रहँदै आएको थियो । सो रकम एनआरएन वैदेशिक रोजगारी कल्याणकारी उपसमितिको पहलमा आज पनौती नगरपालिका वैदेशिक रोजगारीको क्रममा पीडामा परेका कुनै पनि ब्यक्तीको लागि खर्च गर्न तयार भएको हो ।

पनौती नगरपालिका प्रमुख न्यापानेले वैदेशिक रोजगारीको क्रममा रामचन्द्र जस्ता धेरै हुन सक्ने र उनीहरुको विपत्तमा सो रकम खर्च गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले एनआरएनसँग सहकार्य गरेर जगेडा कोषको रकम यस्ता कुनै पनि विषयमा खर्च गर्न सकिने धारणा ब्यक्त गर्नुभयो ।
 
सो क्रममा एनआरएन सहकोषाध्यक्ष एवं वैदेशिक रोजगारी कल्याणकारी समितिका संयोजक सोम सापकोटाले सो जगेडा कोषलाई वैदेशिक रोजगारीको क्रममा रामचन्द्र जस्तै विपत्तमा परेकालाई खर्च गर्ने गरि पहल भइरहेको जानकारी गराउनु भयो । उहाँले यस्ता अन्य संकलीत रकमको पनि खोजी गर्ने कार्य शूरु गरिने बताउनुभयो ।

साउदी अरव जेलबाट छुटेर आएका रामचन्द्रले आफनो लागि संकलीत रकममध्येको जगेडा कोषलाई आफू जस्तै वैदेशिक रोजगारीको क्रममा विपत्तमा परेकालाई खर्च हुनुपर्ने बताउनुभयो । सो कार्यक्रममा पनौती नगरपालिकाका कार्यकारी प्रमुख ध्यानकुमार थापा, चितवन युवा समूह अन्तराष्टिय समन्वय समिति सचिव गणेश ढकाल, पनौती नगरपालिका वडा नं ८ का वडाध्यक्ष केशव बञ्जारलगायतको उपस्थिति थियो ।

काभ्रे पनौती नगरपालिका ३ घिमिरे गाउँका रामचन्द्र तिमिल्सना साउदीमा रोजगारीको सिलसिलामा सडक दुर्घटनामा परि २७ महिना १३ दिन जेल परेका थिए । रामचन्दले ब्लड मनीवापत ४५ लाख रुपैयाँ तीर्न नसकेपछि उनी जेल चलान भएका थिए । उनी जेल परे लगतै एनआरएन लगायत देश तथा बिदेशमा रहेका बिभिन्न सामाजिक संस्थाहरुले रामचन्द्र बचाउ अभियान सञ्चालन गरेको थियो ।

एनआरएनको सकृयातामा रामचन्द्रले तीर्नु पर्ने रकम बुझाएपछि २०७४ साउन १५ गते जेलबाट छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *