जिवनमा एक पटक पुग्नै पर्ने गोसाइँकुण्ड

एक पटक पुग्नै पर्ने गोसाइँकुण्ड
-अमर सिंह अधिकारी-

ओ दाई खाना खाने होइन ? वसबाट ओर्लन नभ्याउदै १५-१६ वर्षको देखिने केटो कराउदै थियो । के के खाना पाइन्छ ? त्रिशुलीको माछा, मासु भात, दही सवै पाइन्छ उसको जवाफ थियो । हामीलाई पनि खाना खानु नै थियो । उ संगै गम्भीरजी र म लाग्यौ संझना होटल एन्ड लज त्रिशुलीमा । साहुजी पनि फरासिलै रहेछन् । तपाईहरु गोसाकुन्ड जान लाग्नु भएको हो ? उनले सोधे, हामीले टाउँको हल्लायौं । लौ खाना खानुस । माथी जाँदा लसुन, टिम्मुर, अदुवा पनि साथमा लैजानुस उनको सल्लाह थियो । करीव १ घण्टाको वर्साईपछि न्यूसांधु यातायातको वस धुन्चे तिर अगाडि वढ्यो । हुस्सु र सिमसिमे झरीको वावजुद पनि त्रिशुली वरिपरीका डाँडाहरुले आफ्नो घुर्मैलो मुहार प्रदर्शन गरिरहेको थियो । वेत्रावती खोलाको सुर्साईपनि त्रिशुली नदि भन्दा कम थिएन । सिरसिर हावाको वेगपनि वढ्दै गएको थियो । त्रिशुलीवाट ४८ कि.मि. पारगर्नु पर्ने सडक पिच नहुदां विच विचमा खाल्डो र गाडीको जोल्डिङ्गले यात्रीहरुको मौनता भंग गरिरहन्थ्यो भने एकआपसमा ठोकिन्थ्यो ।

वस कालिका स्थान वजार माथी पुग्ने वित्तिकै रोकियो । ओ गुरुजी गाडी किन रोकेको ? सर्लाहीका यात्रु शिव पौडेलको सोधाईमा ‘यहाँ निकुञ्जको चेकपोष्ट छ, क्या’ गुरुजीको जवाफ थियो । एकक्षण पछि सेनाको पोसाक लगाएका दुई व्यक्ति वसभित्र छिरी छामछुम गर्न थाले । एउटा अर्धवैंशे मानिस पनि वसभित्र छिरे अनि यात्रुहरुलाई केरकार गर्न थाले । तपाइँहरु सवै गोसाइकुन्ड जान आएको हो ? सवैले हो भने । ‘त्यसो भए राम्रोसँग सुन्नुस् ‘ उनी चौर औंला ठाडो पारी भट्याउंदै गए । ‘तपाईहरुले छाला संवन्धी वस्तु ल्याउनु भएको भए मलाई दिनुस् । माथिवाट धुपी, सल्ला जडिवुटी, फूल लगायत कुनैपनि वस्तु नल्याउनु । पछि भेटिएमा तपाइँहरुलाई जेल सजाय हुन सक्छ । हुन्नत हाम्रो हेड क्वाटर धुन्चेमा छ । त्यहांपनि जाँच हुन्छ । त्यहावाट छोडेपनि यहाँ हामी छोड्दैनौं । सवैले याद गर्नुस ‘ । वसको एक यात्रुले भनिहाले- त्यो वुढा त गजवको भाषण गर्न जान्दो रहेछ । सवै गलल्ल हाँसे ।

वस राम्चे पैरो नजिक पुग्यो । ‘सवैजना वसवाट ओर्लनुस’ खलासी भाईको आदेश थियो किन आर्लने ? हाम्रो सोधाई सकिन नपाउदै उनले प्याक्क भनिहाले ‘माथीवाट ढुङ्गा झरीरहेको र तलवाट पहिरो वगीरहेको छ देख्नु भएन ? सवै यात्रुहरु ओर्लदै पहिरोको दृश्यावलोकन गर्न थाले । कतिपय भने डरले थरथर कामीरहेका थिए । झर्न्डै ३ कि.मि.मा रहेको ठाउँ ठाउँको पहिरोले अवागमनमा वाधा पुर्‍याइरहेका थिए । डरै डरमा वस धुन्चे वजार काठमाडौवाट छुटेको ९ घण्टा पछि पुग्यो । दिनको ३ : ३० वजिसको थियो । २००० मिटर उचाईमा रहेको धुन्चे वजार कुहिरोले ढपक्क ढाकेको थियो । सिमसिमेझरी पनि रोकिएको थिएन । यात्रुहरुको खचाखचले वजार क्षेत्र भिडभाड वनेको थियो । होटल व्यवसाहीहरु पाहुना तान्नमा व्यस्त थिए । अघिपछिको भन्दा धेरै महङ्गो पनि वनेका थिए धुन्चेका होटलहरु । डबल वेड कोठाको कत्ति नि ? धुन्चे गेण्ट हाउसको साउजीले भने – एक हजार त हो नि । अहिले किन वढी नि ? उनले भनें -कहां वढी हुनु नि । अरुले १५ सय लिन्छन् । व्यापार हुने सिजनमा त अलि अलि वढी लिनु पर्‍यो नि भाई । उनको सटिक जवाफ थियो । महँगा देखि सस्ता सवै किसिमका होटहरुको व्यवस्था हुँदा सवैले सजिलै रात विताउन पाए । धुन्चे गेष्ट हाउसका साहुजी तेन्जीङ्ग आफ्ना पाहुनाहरुलाई अथ्याउदै थिए । माथी राम्रो संग जानुस । टिम्मुर र लसुन खादै जानुस । यसले लेक लाग्दैन । पानी वढी पिउनुस । उनको आज्ञालाई शिरोपर गर्ने प्रतिवद्धताका लागि सवैले मुन्टो हल्लाए ।

विहान ६ वज्न नपाउँदै धुन्चे वजारमा हल्ला खल्ला चल्यो । ८०-९० जनाको हुल सहित हाम्रो यात्रा धुन्चेवाट अगाडि वढ्यो । हिमालयन मिनरल वाटर उत्पादन स्थल हुदै पश्चिम तेपाईलो वाटो हुदै १ घण्टाको समयमा घट्टेखोलाको त्रिशुली नदीमा रहेको सझोलुङ्गेपुल पार गरेपछि केही होटलहरु देखा परे । ‘ल चिया खानुस ल चिया खानुस’ तामाङ्ग महिलाहरु मिठो स्वरमा यात्रुहरुलाई लोभ्याउदै थिए । मैले पाटने साथी गम्भीर नेकुतिर हेरेर चिया खाने भने इश्वारा गरें । उनले अगाडि वढने इसारा गरे । त्यसपछि घोप्टेभिरको वाटो हुदै उकालो लाग्यौं ।

यात्रुहरुको हुलले वाटो जाम जस्तै थियो । ‘काठमाडौंमा मात्र होइन ट्राफिक जाम त । यहाँ पनि हुदो रहेछ’ ललितपुरका प्रकाशले छेडछाड गर्न भ्याइहाले । २.३० घन्टाको ठाडो उकालो जङ्गल हुदै देउरालीमा विश्राम लिन पुग्न सकिदो रहेछ । हामी पुग्नु अगाडि नै देउराली खचाखच थियो । हाम्रो भिडले झन् होटल भरीभराउ भयो । खाना तथा आवासको राम्रो व्यवस्था रहेको देउरालीमा २ वटा होटल राम्रो अवस्थामा भेटियो ।

देउरालीमा फुलपाती चढाउने चलन धेरै पुरानो भएको त्यहाँका एक व्यापारीले वताए । देउराली वाट उकालै उकालो हुदै १ घण्टा ३० मिनेटमा ढिम्सा भन्ने स्थानमा पुग्न सकिदो रहेछ । ढिम्सामा रहेको ढुङ्गाहरुमा एकछिन भए पनि वस्तु पर्ने प्रचलन पाइयो । ढिम्सामा आर्मीको व्यारेक रहेको छ । सेनाले गेटमा मुल्य सुचि टासेर सस्तो मुल्यमा डाइ फुड र तरलीय पदार्थहरु (फ्रुटी, रियो,….पानी) वेच्न राखेको हुदाँ धेरैले राहात महसुस गर्न पाए । विच वाटोहरुमा आर्मी र पुलिसको गस्तीहरु पनि भेट्टिएकै थियो । ढिम्सा ३ हजार मिटरमा हुँदा त्यस स्थानवाट लेक लाग्ने संभावना वढदै जान्छ । २-४ वटा टहराहरु त्यसमा रहेका खानेकुराले गर्दा यात्रुहरुले भोक र व्यास मेट्न पाएका थिए । उसिनेको आलु त्यहाँको प्रमुख खाना हो ।

खाना खान त चन्डनवारी पुग्नु पर्छ है । अलि छिटो लम्कनुस ‘ दोलखाका झाक्री सन्त तामाङ्गले भने । उनका साथीहरु सके अगाडि वढ्ने त हो नि कस्तो गाहृरो भएको भन्दै थिए । धेरै यात्रु, हरेकको आ-आफ्नै ताल । कोही गीत गाउँदै । कोही जोक सुनाउदै । कोही यात्रुहरु डोर्‍याउदै । यस्ता दृष्यले वाटो काट्न सजिलो हुदै गएको थियो । उ चन्दन वारी आइपुग्यो- चापागाउँकी महिलाले वढो खुशी हुदै भनिन । चिटिक्क परेको घरहरु । सिगारीएका होटल र टहरा । केही समथर वस्ती परेको भौगोगिक वनावट । वजारको विचमा रहेको वौध्द्ध गुम्बा । गुम्बा भित्र रहेको वुद्धको ठुलो मूर्ती र गुम्वामा झुलिरहेका लामा । साच्चै नै मनमोहक रहेछ चन्दनवारी । दुग्ध विकास संस्थानले त्यस ठाउँमा चिज कारखाना संचालन गरेको छ । चौरीपालनको लागि प्रसिद्ध त्यहाँको भुगोल वजारको सुविधा पाएका त्यहाँका पशुपालकहरु खुशी देखिन्थे । प्रायजसो मानिसहरु धुन्चेवाट हिडेको दिन सोही स्थानमा वास वस्ने रहेछन् । हामीले भने लौरीविनायक पुग्ने योजना वनाएका थियौं । चन्डनवारीमा केही समय विश्राम गरेपछि हामी अगाडि वढ्यौ ।

चन्दनवारीवाट तरपाइँलो वाटो हुदाँ यात्रुहरुले केही राहत महसुस गर्न पाए । करीव १ घण्टा ३० मिनेटको यात्रा पछि चोलाङपाटी पुग्न सकिन्छ । ३५२० मिटरको उचाईमा रहेको चोलाङ्ग पाटी रेडपान्डाहरुको आश्रयस्थल पनि हो । त्यस ठाउँमा ३ वटा राम्रा होटलहरु रहेका छन् । व्यापार कतिको छ त साहुजि ? हामीले प्रश्न गर्‍यौं । कालिकास्थानका सुमन देवकोटाको जवाफ थियो – यसपाली उति सारो भएन । किननि यस पटक तिर्थयात्रीहरुको संख्या घटेको छ । उनको भनाई अनुसार यस वर्ष सुन्दरीजलको बाटो धेरै तिर्थालुहरु गोसाइकुण्ड गए ।

लौरीविनको पहिलो कुड्किलोको रुपमा रहेको चोलाङपाटी आवासको लागि उपयुक्त मानिदो रहेछ । भारी वर्षादले गर्दा त्यो दिन त्यस ठाउँको उतिसारो रसस्वादन गर्न सकिएन । अर्कोचोटी आउँदा वास वस्ने वाचा गर्दै हामी अगाडी वढदै गयौं वासको गन्तव्य लौरीविनायक तिर । ८०- ९० जनाको हाम्रो हुल छिन्नभिन्न भैसकेको थियो । मुश्किलले हामीहरु १०-१२ जना वाँकी थियौं । अगाडि वढ्ने भन्दा पछाडि छोडिनेहरुको संख्या वढी थियो । सयौं यात्रुहरु लेक लागेर लखतरान परेका । केही फर्किएका । केही घोडामा सवार भएका देखिन्थ्यो ।

उकालो वाटो गफ त निकाल्नै पर्ने चापागाउँका झण्डै ९० के जी का अर्धवैशे थापा काजी साथै थिए । उनलाई जिस्काउने मनसायले ‘ओ काजी साहेव हजुर त गजव हिड्नु हुदो रहेछ पहिले खाएको घिउको वलले हो कि क्या हो । ‘ उनी गलल्ल हासें र मख्ख परेर भने – हो त नि गाउँमा मलाई सवैले गोसाइकुण्ड पुग्न सक्दैन भनेका थिए । तर यहाँ सम्म त सजिलै आइपुगिनि । तर उनी स्या स्या र फ्या फ्या गर्दै अड्की अड्की वोल्दै थिए । अहिलेका मान्छे त के खान्छन् र ! हामीले उतिवेला ३ माना घिउँ त व्यत्तिकै पिउथ्यौं । ढ्याउ गरेर ढकाथ्यौ । पचाउथ्यौं । हामी मजाक मै लौरीविनायक पुगिसकेछौ । ३८ सय मिटरमा रहेको लौरीविनायक उच्च ठाउँमा अवस्थित छ । त्यस स्थानवाट लामटाङ्ग हिमाल, तिव्बती हिमाल, गणेश हिमाल, रसुवाको स्याप्रवेशी, धुन्चे र नुवाकोट/धादिङ्गका टाढा टाढाका गाउँहरु लगायत धरै डाँडाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

चौरीहरुको खर्कमा चौरी चरिरहेका थिए । हामीलाई ६ वजेतिर मौसमलेपनि साथ दियो नै । त्यस लौरीविनायकमा वास वसेका झण्डै २ सय यात्रुहरु थिए । मौसम सफा भएपछि हिमालको व्यानरमा फोटो खिचाउनेहरुको घुइंचो लाग्न थाल्यो । केही भने उनी स्वीटर टोपी र पछ्योरा किन्न थाले जाडोवाट वच्न । त्यहाँ स्थानीय रुपमा वनेको कपडाहरु किन्न पाँइदो रहेछ । चन्दनवारीमा जस्तै त्यस ठाउँमा पनि स्वास्थ्य शिविरको व्यवस्था रहेछ । पयर्टन व्यवसायी तेन्जीङ्ग तामाङ्गले भने -जाडो भएको भए आगो वाल्ने व्यवस्था मिलाइ दिन्छु । सवैले हुन्छ हुन्छ लै लै मिलाए । चिम्नीमा आगो वल्न थाल्यो । आगो ताप्नेहरुको भिड लाग्यो । चितवनका हरिसरले भिजेका भित्री कपडाहरु सुकाउन भ्याइहालें । त्यसपछि अरु पनि के कम भिजेका कपडाहरु सुकाउने क्रम वढ्यो । राती जाडोले सताउन भने छोडेन ।

भोलीपल्ट विहान मौसम सफा नै भयो । लौरीविनायकको उकालो चढ्ने क्रम शुरु भयो । एक पाइला हिड्दै वरीपरीका हिमाल, पहाड, कन्दराहरुसंग आँखा जुधाउदै अगाडि वढ्न थाले यात्रुहरु । कोही यात्रुहरु घोडामा सवार थिए नै । लौरीविनाको डाँडामा रहेको वुद्ध मन्दिरमा लौरी चढाउनेको घुइँचो थियो । वुद्ध मन्दिर पुगेपछि उकालो क्रमश हराउदै गएको थियो । २-४ वटा टहराहरुमा रहेका व्यापारीहरु आफ्नो विज्ञापन गरीरहेका थिए । त्यहाँ फ्रान्सकी ल्फोरा भेटिइन । उनी सिंगार पटार गर्दैथिइन स्थानीय भेषभूषमा । उनी स्थानीय महिलाहरु संगै गोसाइकुण्डमा तामाङ नृत्यमा सहभागि हुन जादै रहिछिन् । वुद्ध मन्दिरवाट पूर्वी दिशा तर्फभिरको वाटो तरपाईलो अघि वढ्दै गएको छ गोसाइकुण्ड पुग्ने वाटो । उ त्यही हो गोसाइकुण्ड नजिकको चौतारीमा पुगेपछि यात्रुहरु खुशी साट्न थाले । त्यस चौतारीमा गणेश र कुमारको प्रतिमा स्थापना गरिएको छ । यहाँवाट सरस्वती कुण्ड, भैरवकुण्ड र गोसाइकुण्डको थारै भाग देख्न सकिन्छ । विहान १० वजे तिर हामी गोसाइकुण्ड पुग्यौं र वासको प्रवन्ध गरी दिन भरी त्यस स्थानको आनन्द लिदै जनैं पूणिर्माको विहानीलाई कुर्न थाल्यौं ।

तीन चार वटा पहाडको विचको उपत्यकामा अवस्थित गोर्साईकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिकोणवाट अति महत्वपूर्ण मानिन्छ । धार्मिक विश्वास अनुसार समुन्द्र मन्थन गर्दा उत्पन्न भएको कालकुट विषको असरवाट पृथ्वीलाई वचाउन भगवान शिवले सो विष पान गर्नुभयो । विष सेवनवाट उहामा औंडाहा र छट्पटी भयो । त्यसलाई शान्तपार्न भगवान शिव सो स्थानमा पुग्नु भयो । आफ्नो हातमा भएको त्रिशुल भित्तामा हिर्काउदाँ भित्तावाट आएको गंगाजलमा नुहाई आफूलाई शान्त वनाउनु भयो । सोही जलवाट वनेको सुन्दर कुण्ड र त्यहाँको मनोरम दृश्यले उहाँलाई लोभ्यायो र गोर्साई वावा अर्थात भगवान महादेव गुर्साईकुण्डमा सयन गर्नुभयो । यस कुण्डमा स्नान गरी महादेवको दर्शन गर्नाले सवै पापहरुवाट मोक्ष भई स्वर्ग प्रवेश गर्न पाइन्छ । मृतआत्माहरुको चिरशान्ती हुनुको साथै शारिरमा रोगव्याधी लाग्दैन भन्ने लोक मान्यता पाइन्छ । स्याफ्र गा.वि.स. को ४२३८ मिटर उचाईमा रहेको कुसाइकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत विशिष्ट धार्मिक संरक्षण क्षेत्र पनि हो । यस कुण्डमा प्रत्येक वर्ष दशहरा र जनैपूणिर्मामा विशेष मेला लाग्ने गर्दछ । सो मेला भर्न स्वदेशी तथा विदेशी पर्यटकहरु विशौ हजारको सख्यामा आउने गर्दछन् ।

त्रिशुल धारावाट वगेको पानी कुसाइकुण्ड, तल २०० मीटर जतिमा रहेको भैरव कुण्ड, त्यसवाट पनि तल करिव ३०० मिटर जतिमा रहेको सरस्वती कुण्ड हुँदै त्रिशुली नदिमा मिसिन आइपुग्छ । कुसाइकुण्डको १ घण्टा पूर्वी दिशामा सूर्यकुण्ड रहेको छ । त्यसो त गोसाइकुण्डको वरिपरि १०५ कुण्डहरु रहेको अनुमान गरिन्छ । ती सवैको भने पहिचान भएको छैन । कुण्डको विच भागमा शिव लिंगको आकृति स्पष्ट देखिन्छ । घाम लागेको समयमा भगवान शिवको आकृती देख्न सकिने स्थानीय वासीहरु वताउँछन् । आँखाले देखुन्जेल निलो पानी पानी वरीपरि अग्ला पहाड स्वछन्द हावा मनमोहक वातवरण त्यस स्थानमा वस्दा कस्लाई पो आनन्द नआउला र । साचैै र्स्वर्गको अनुभुति गर्न सकिने सो स्थान ध्यान साधनामा लाग्नेहरुको लागि उत्कृष्ट तपोभूमि पनि हो ।

कुण्डको उत्तर तर्फवास वस्नको लागि ४-५ वटा उपयुक्त होटलहरु र विसौं टहराहरु, ३-४ वटा धर्मशालाहरु रहेका छन् । छेवैमा शिवमन्दिर रहेको छ । तामाङ सेलो, मेन्दोमाया, ढयाङ्गेनाच र अन्य भजन किर्तनले त्यहाँको मनोरमतालाई झनै निखारेको छ । कुण्डमा नुहाउने, त्रिशुल धारामा पुजा आजा गर्ने र शिव मन्दिमा पुजा आराधाना गर्ने त्यहाँको प्रचलन देखिन्छ । यसवर्ष कम वर्षा र कम हिमताले गर्दा कुण्डको पानीको सतह घटेको गोसाइकुण्ड क्षेत्र विकास समितिको ठहर छ । उनीहरुको अनुसार वन्द हड्ताल र राम्चेको पहिरोले गर्दा पनि गतवर्षो तुलनामा यस वर्षपर्यटकहरुको संख्या कम भएको छ । गोसाइकुन्ड पुग्न रसुवा, नुवाकोट, काठमाडौं र सिन्धुपाल्चोक गरी ४ वटा मार्गहरु संचालनमा छन् । साँच्चै सके धेरै चोटी नसके पनि जिवनमा एक पटक भएपनि पुग्नै पर्ने गोर्साईकुण्डको महिमा अपारम्पार छ । यस क्षेत्रको संरक्षण र संवर्द्धनमा ध्यान पुराउदै यसको प्रचार प्रसारमा लाग्नु पर्ने देखिन्छ । लाखौ पर्यटकहरुको ध्यानाकर्षा गराउन सकेमा पर्यटन उद्योगमा ठूलो टेवा पुर्‍याउन सकिन्छ । गोर्साईकुण्ड वाट एक दिनमा आराम साथ धुन्चे र्फकन सकिँदो रहेछ ।

(-नेपालप्लस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *