गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको प्रथम बृहत बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको प्रथम बैठक यहि सेप्टेम्वर २५ मा फार्नवोरोस्थित होटल होलिडे ईनमा राष्ट्रिय परिषदको गठन गर्दै भव्यतापूर्वक सम्पन्न भएको छ । संघको यूकेका सबै पदाधिकारीहरु र विभिन्न ८४ वटा संघसंस्थाका आमन्त्रित प्रतिनिधिहरुको सहभागिता रहेको बृहत बैठकको उदघाटन ब्रिटेनका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतो, संघका अन्तर्राष्ट्रिय अध्यक्ष देवमान हिराचन र संघका यूकेका अध्यक्ष सुर्य गुरुङले पानसमा बत्ति बालेर गर्नुभएको थियो । बैठकको उद्घाटन समारोहलाई प्रमुख अतिथि महामहिम राजदूत डा. सुरेशचन्द्र चालिसे, विशिष्ठ अतिथि डा. उपेन्द्र महतो र अर्का विशिष्ठ अतिथि देवमान हिराचनले संबोधन गर्नुभएको थियो । बैठकको उदघाटन समारोहका अन्य अतिथिहरुमा संघका संरक्षक परिषदका सदस्य रामप्रताप थापा, संघका उपाध्यक्ष जीवा लामिछाने, संघका अन्तर्राष्ट्रिय कमिटिका सल्लाहकार तथा संघका यूकेका संरक्षक प्रो सुर्य सुवेदी, संघका यूरोपीय संयोजक क्या. हितमान गुरुङ, संघका एशिया प्यासिफिक क्षेत्रका संयोजक गणेश इजम, संघका लिवियाका अन्तर्राष्ट्रिय कमिटिका सदस्य प्रकाश पुन, संघका बेल्जियमका अध्यक्ष पिजि शेर्पा र संघका बेल्जियमका कार्यसमितिका सदस्य अनुजा प्रधान हुनुहुन्थ्यो । उदघाटन समारोहको अध्यक्षता संघका यूकेका अध्यक्ष सुर्य गुरुङ, संचालन कोआर्डिनेटर भक्त गुरुङ, स्वागत मन्तव्य उपाध्यक्ष महेन्द्र कँडेलले गर्नुभएको थियो र अर्का उपाध्यक्ष कुल आचार्यले कार्यक्रमको अन्त्यमा धन्यवाद दिनुभएको थियो ।

उदघाटन समारोहपछि बैठकमा विभिन्न विषयगत सेसनहरु आयोजना गरिएको थियो । जसअनुसार पहिलो सेसनमा सहभागी सम्पूर्ण संघसंस्थाहरुको संक्षिप्त परिचय गरिएको थियो । जसमा सबै संघसंस्थाका अध्यक्षहरुले आ-आफ्नो संस्थाको छोटो चिनारी र संस्थाले गरिरहेको कामको बारेमा जानकारी गराउनु भएको थियो । दोश्रो सेसनमा “गैर-आवासीय नेपाली संघको विगत वर्तमान र भविष्य” विषयमा अध्यक्ष देवमान हिराचनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त सेसनलाई क्या. हितमान गुरुङ्को संयोजकत्वमा डा. हेमराज शर्मा, चिरन्जिबी ढकाल, गणेश इजम र विजय थापा रहेको प्यानलले संचालन गरेको थियो । अध्यक्ष हिराचनले गैर-आवासीय नेपाली संघको बारेमा विस्तृत रुपमा जानकारी गराउनुभएको थियो । वहाँले सेसनमा यहि अक्टोवर ११ मा पोखरामा आयोजना हुनगईरहेको गैर-आवासीय नेपाली दिवसमा सहभागी हुन सबैलाई निमन्त्रणा दिनुभयो ।

बैठकको अर्को सेसनमा “गैर-आवासीय नेपाली संघको सुदृढिकरण; समृद्धशाली मातृभुमिको निर्माण” विषयमा प्रमुख संरक्षक डा. उपेन्द्र महतो र उपाध्यक्ष जीवा लामिछानेले कार्यपत्र पेश गर्नुभएको थियो । यो सेसनको संचालन डा. चन्द्र लक्सम्वाको संयोजकत्वमा डा. पदम सिम्खडा, डा. अरुण झा, खगेन्द्र नेपाली, किशोर सापकोटा र राजन कँडेल रहेको प्यानलले गरेको थियो । कार्यपत्र प्रस्तोताहरुले समृद्ध नेपाल बनाउने काममा गैर-आवासीय नेपालीहरुको योगदानको वारेमा चर्चा गर्नुभएको थियो । बैठकको पाँचौं सेसनमा “दोहारो नागरिकताको अधिकार; राष्ट्रिय एकता र जिम्मेवारीको विस्तार” बिषयमा संरक्षक रामप्रताप थापाले कार्यपत्र पेश गर्नुभएको थियो । सो सेसनको संचालन प्रो. सुर्य सुवेदीको संयोजकत्वमा क्या. हितमान गुरुङ, राजु थापा, लक्ष्यबहादुर गुरुङ, डा.चन्द्रबहादुर गुरुङ, शिवजी श्रेष्ठ र केशबहादुर गुरुङले गर्नुभएको थियो । उक्त सेसनमा कार्यपत्र प्रस्तोता रामप्रताप थापाले गैर-आवासीय नेपाली संघको दोहोरो नागरिकता सम्बन्धि अवधारणापत्र पेश गर्नुभएको थियो । वहाँले गैर-आवासीय नेपाली संघले अघि सारेको एकपटकको नेपाली सधैको नेपाली बन्ने अधिकारलाई कुण्ठित नपार्ने गरी गैर-आवासीय नेपालीहरुलाई नागरिकताको व्यवस्था गराउन नेपालमा कुराहरु अघिबढेको बताउनुभयो । वहाँले नेपालको हालको राजनीतिक गतिरोध अन्त्य भई संविधान निर्माण प्रकृया अघि बढ्नासाथ प्रतिनिधिमण्डल गई नेपालका संबन्धित पक्षहरुसंग निर्णायक चरणमा कुराहरु हुने बताउनुभयो । हलमा उपस्थित सम्पूर्ण प्रतिनिधिहरुले दोहोरो नागरिकता आफ्नो अधिकार भएकोले नेपालले यस कुरालाई अब बन्ने संविधानमा नै उल्लेख गर्नुपर्ने कुरालाई एकमतले समर्थन जनाएको थियो ।

कार्यक्रमको अर्को सेसनमा गैर-आवासीय नेपाली संघ यूकेको विगत वर्तमान र भावि कार्यक्रमहरु र गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको गठन वारेमा संघका अध्यक्ष सुर्य गुरुङले कार्यपत्र पेश गर्नुभएको थियो । यस सेसनको संचालन युकेका पुर्व अध्यक्ष रि.मे. डमर घलेको संयोजकत्वमा संघका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, चण्डिका राई, सुवास अधिकारी, डा. कृष्ण अधिकारी र थर्क सेन रहेको प्यानलले गरेको थियो । बैठकको यस सेसनले संघको विधान बमोजिम राष्ट्रिय परिषदको गठन पनि गरेको छ । यहि सेसनले नेपाल हाउसको परियोजनालाई अघि बढाउने बेलायतको आगामी वर्ष हुने राष्ट्रिय जनगणनामा नेपालीहरुले उल्लेख्य जनसहभागीता जनाउने जस्ता विषयहरुमा एकमतले अघि बढ्ने निर्णय पनि गरेको छ ।

कार्यक्रमको अर्को महत्वपूर्ण सेसन “नेपालको आर्थिक कुटनीति र नेपाल भ्रमण वर्ष २०११ मा गैर-आवासीय नेपाली र नेपाली नियोगहरुको भुमिका” विषयमा महामहिम राजदूत डा. सुरेशचन्द्र चालिसे र प्रो सुर्य सुवेदीले कार्यपत्र पेश गर्नुभएको थियो भने लेसोथोमा रहनुभएका संरक्षक परिषदका सदस्य भीम उदासको लिखित कार्यपत्र बैठकमा पढेर सुनाईएको थियो । डा. राघव धितालको संयोजत्वमा रनबहादुर के.सी., दिनेश घिमिरे, विजन भट्ट, भाग्यनारायण राय, सुमन खरेल र ध्रुव के.सी. रहेको प्यानलले यो सेसनको संचालन गरेको थियो ।

यसैबिच संघका अध्यक्ष सुर्य गुरुङले एक विज्ञप्ति जारी गरी संघको निमन्त्रणालाई उच्च महत्व दिई कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि, विशिष्ठ अतिथिहरु, अन्य अतिथिहरु, संघसंस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु, आयोजक सहकर्मीहरु र प्यानलका सदस्यहरुलाई हार्दिक धन्यवाद दिनुभएको छ । विज्ञप्तिमा वहाँले कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न आर्थिक रुपमा सहयोग गर्ने गोर्खा सेक्युरिटी सर्भिसेज, यूरोपको नेपालीपत्र साप्ताहिक, लण्डन कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्ट, पी. के. पी. एण्ड कम्पनी सर्टिफाईट एकाउन्टेण्ड, अस्गार एण्ड को. सोलिसिटर र खुकुरी वियरलाई बिशेष धन्यवाद दिनुभएको छ । संघको विधानानुसार प्रत्येक दुईवर्षमा आयोजना हुने यस कार्यक्रममा संघका यूकेका पदाधिकारीहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु गरी २५० जनाको सहभागिता रहेको थियो ।

NRNA UK 1st National Council Meeting 2010 ( Photos by Milan Tamu )

Leave a Reply

Your email address will not be published. Required fields are marked *